नाफिज र प्राधिकरणको सहकार्यमा बीमा सचेतना सम्पन्न
काठमाडौं ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल प्राधिकरणको सहकार्यमा आयोजित बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ मा शनिबारदेखि सुरु भएको यो कार्यक्रम आइतबार सम्पन्न भएको हो ।
नियामक निकाय नेपाल बिमा प्राधिकरणका उच्च पदस्थ अधिकारी, बीमाकर्मी, बीमा विज्ञ र आर्थिक पत्रकारहरुको उपस्थीतिमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमको समापन गर्दै नाफिजका उपाध्यक्ष निरोजकुमार थापाले आर्थिक पत्रकारहरुमा बीमा सम्बन्धी ज्ञान बढाउन कार्यक्रमले सहयोग पुगेको बताए ।
कार्यक्रममा बीमा समितिका उप निर्देशकद्दय केशवप्रसाद दाहाल र निशा घिमिरेले ‘बीमा प्रडक्ट र तीनका जटिलता’का बिषयमा प्रस्तुतीकरण दिएका थिए । यसै गरि प्राधिकरणका उप निर्देशक राम कोजुले ‘बीमामा प्रविधिको प्रयोग र रणनीति’ र प्राधिकरणकै उपनिर्देशक विरोध वाग्लेले ‘बीमा कम्पनीको लगानी विविधीकरण’ सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए । यसैगरि बीमा क्षेत्रको ‘बर्तमान अवस्था, चुनौती र अबको बाटो’ प्यानल छलफल समेत गरिएको थियो ।
प्यानल छलफलमा कसले के भने ?
त्यसमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पौडेल, नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र वैदवार र पुर्व बीमा व्यवस्थापक रमेश कुमार भट्टराई वक्ताको रूपमा थिए । त्यसमा नाफिजका सल्लाहकार श्रीधर खनालले सहजकर्ताको भूमिका निभाएका थिए ।
छलफलमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले सहि नीति अवलम्बन गरी नीतिगत विषयबाट त्रुटि नहोस् भनेर काम गरिरहेको बताए । ‘बीमाले हरेक क्षेत्रमा जोखिम लिएको छ । अन्तर्राष्ट्रिय मान्यतालाई पछाउँदै कर्पोरेट गभर्नेन्समा प्राधिकरण फोकस छ,’ उनले भने ।
साथै, नेपालीले बीमालाई सुरक्षा भन्दा पनि बचतको रुपमा लिएको बताउँदै त्यसलाई ब्रेक गर्न आवश्यक भएको उनको भनाइ छ । ‘खासमा बीमा सुरक्षाकै लागि हो । तर, नेपालमा बचतका लागि बीमाको प्रयोग भएको जस्तो देखिन्छ । त्यसलाई ब्रेक गर्न आवश्यक छ,’ उनले बताए । बीमा कम्पनीले दाबी भुक्तानीलाई छिटो गर्न सकेको खण्डमा बीमामा थप विश्वासको वातावरण तय हुँदै जाने अधिकारीको भनाइ छ ।
यस्तै, जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले नेपालमा मल्टी करेन्सी बीमा प्रडक्ट ल्याउन आवश्यक रहेको बताए । जीवन बीमा कम्पनीहरुको व्यवसाय बढेको देखिएपनि सम्पत्ति तथा पुँजीको आधारमा नाफाको अनुपात धेरै नै कम भएको उनको भनाइ छ ।
‘बीमा व्यवसायको बृद्धिसँगै साइड इफेक्ट पनि आइरहेका छन् । हामीले गुणस्तर बीमा व्यवसाय गर्नुपर्छ । कर्पोरेट गभर्मेन्स पनि पहिलाको भन्दा राम्रो भएको छ,’ उनले भने । साथै पत्रकारले नाफासँगै संस्थागत सुशासनका लागि भएका कामको बारेमा पनि समाचार बनाउनुपर्ने बताए ।
यस्तै, बीमा क्षेत्रमा डिजीटलाइजेशन हुन समय लाग्ने उनले बताए । ‘जोखिम व्यवस्थापन गर्ने बीमाले हो । दाबी भुक्तानी पनि बीमा कम्पनीहरूले गरिरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय प्रविधिको प्रयोग बढ्दो पनि छ । तर, व्यवहारिक रुपमा भन्दा बीमा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन केही समय लाग्न सक्छ ।’
यसैगरी नेपाल बीमक संघका अध्यक्ष विरेन्द्र वैदवारले बीमा गर्नु ‘वेस्ट अफ मनि’ (पैसाको वर्वादी) भन्ने धारणा चिर्न आवश्यक रहेको बताए । त्यसका लागि पत्रकारले पनि आम नागरिकलाई बीमाबारे सुसुचित बनाउनुपर्ने उनको भनाइ छ ।
बीमा कम्पनीले लगानी गर्दा नाफा हेरेरै सुरक्षित क्षेत्रमा लगानी गर्ने गरेको उनी बताउँछन् । ‘घाटा हुने क्षेत्रमा पक्कै बीमा कम्पनीले लगानी गरेका छैनन । लगानीबाट हुने आम्दानीबाटै बीमा कम्पनीले बढी रिटर्न लिने हो,’ उनले भने, ‘तसर्थ, लगानीमा समस्या छ जस्तो लाग्दैन ।’
बीमालाई सुरक्षाको अभिन्न अंगको रुपमा बुझ्न आवश्यक रहेको पनि उनले बताए । बीमामा युवाहरूको आकर्षण कम देखिएको बताउँदै उनले बीमामा युवालाई प्रोत्साहन गर्न आवश्यक पनि बताए ।
यस्तै, पुर्व बीमा व्यवस्थापक रमेशकुमार भट्टराईले नियामक निकाय प्राधिकरण आवश्यकता अनुसार अगाडि बढ्न नसकेको बताए ।
‘नियामक निकाय प्राधिकरण जति अगाडि बढ्नु पर्ने थियो, त्यो अनुसार बढ्न सकेन । तसर्थ, अब प्राधिकरण थप सक्रिय हुन आवश्यक छ,’ उनले बताए । बीमा दायरा बढाउने मामिलामा कम्पनीहरु पनि सक्रिय हुनुपर्ने उनको भनाइ छ ।
बीमा कम्पनीले पनि जोखिम हरेर अन्यत्र क्षेत्रमा लगानी गर्न नसकेको खण्डमा आउँने समस्यालाई अहिलेबाटै आकलन गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘बीमा कम्पनी समाज सेवा गर्न आएका हैनन् । नाफै गर्न आएका हुन् । त्यही क्रममा जनतालाई बीमा सेवा पनि दिने हो । यही अवस्थालाई दृष्टिगत गर्र्दै बीमाको दिगो भविष्यलाई कायम राख्न उचित कदम चाल्नु पर्छ,’ उनले भने । बीमा प्राधिकरण पनि उच्च तहकोे सुशासन जान आवश्यक रहेको भट्टराईको ठम्याई छ । बीमा कम्पनीहरुमा ठुलो जोखिम बहन गर्ने क्षमता बढाउनुपर्ने भएकाले सोही अनुसार योजना बनाउँदै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।