काठमाडौं । नबिल बैंकको सहकार्यमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बैंकिङ बिटमा समाचार लेख्दै आएका आर्थिक पत्रकारलाई दुई दिने Media Sensitization Program on Decoding Financial Data नामक तालीम आयोजना गरेको छ । २०७८ भदौ १८ र १९ गते, शनिबार र नगरकोटस्थित होटल कन्ट्री भिल्लामा सो कार्यक्रम आयोजना गरिएको हो ।
तालीम कार्यक्रममा ३५ जना आर्थिक पत्रकारको सहभागिता थियो । तालीमले बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गर्ने वित्तीय विवरण केलाउने आर्थिक पत्रकारको क्षमता विकासमा सघाउ पुर्याएको, नियामक निकाय नेपाल राष्ट्र बैंकले जारी गर्ने नियामकीय व्यवस्था विश्लेषण गर्ने शीप विकास गरेको तथा बैंकसँग सम्बन्धित विषयवस्तुमा आर्थिक पत्रकारको ज्ञान विस्तार गरेको विश्वास गरिएको छ ।
तालीम कार्यक्रमको समापन समारोहनमा बोल्दै नबिल बैंकका अध्यक्ष श्री उपेन्द्र पौड्यालले आफ्नो अनुभव सुनाउँदै यसबीचमा आर्थिक पत्रकार र उहाँहरुले सम्प्रेषण गर्ने बैंकिङ समाचारको स्तरमा ठूलो परिवर्तन आएको बताउनुभयो ।
“वित्तीय विवरण/तथ्यांक र विषयवस्तु विश्लेषण गर्ने काममा सञ्चारगृहले उतिकै लगानी गर्न आवश्यक छ,” कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “विदेशतिर समाचार र विषण्वस्तुमा ठूलो लगानी गर्ने गरिन्छ, विदेशबाट पत्रकारको टिम नै नेपाल आएको रिपोर्टिङ गरेको पाइन्छ । नेपालमा भने त्यस्तो अभ्यास विरलै गरिएको सुनिन्छ ।” पौड्यालले नेपाली पत्रकारले संवेदनशील विषयलाई पनि सनसनीपूणर् बनाउने गरेको आफूले पाएको अनुभव सुनाउनुभयो ।
बैंकिङ विगतको फन्दा फरक धारमा गइसकेको भन्दै पौड्यालले भन्नुभयो, “प्रोफिट (नाफा)मात्र उन्मुख बैंकहरु अब पिपुल (जनता) र प्लानेट (पृथ्वी तथा पर्यावरण) उन्मुख हुन आवश्यक छ । नबिल बैंकले पनि यसलाई मध्यनजर गर्दै सस्टेनेबल (दीगो) बैंकिङलाई अनुसरण गरिसकेको छ ।”
अध्यक्ष पौड्यालले नबिल बैंक र नाफिज मिलेर आयोजना गरेको यो तालीमले विश्वसनीय समाचार सम्प्रेषणमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आर्थिक पत्रकारको क्षमता विस्तारमा सधैं सघाउने प्रतिबद्धता गर्नुभयो ।
समापन समारोहमा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पछिल्लो ३० वर्षमा आर्थिक पत्रकारको स्वरुप परिवर्तन भएको अनुभव सुनाउनुभयो । “म सञ्चारकर्मी साथीहरुको प्रशंसा गर्न चाहन्छु कि मैले नबुझेका विषयवस्तु पनि उहाँहरुको लेख पढेर बुझ्ने गर्दछु,” उहाँले भन्नुभयो, “पत्रकारको जिज्ञासु स्वभाव निकै वृद्धि भएको छ भने नेपाल राष्ट्र बैंकमाथि अपेक्षा बढेका छन् । यसैलाई मध्यनजर गर्दै तथ्यांक उपलबध गराउने र नियामकीय निर्देशन लेख्ने प्रक्रियालाई समसापेक्ष सहज बनाउँदै पनि गएका छौं ।”
मिश्रले राष्ट्र बैंक नम्र नियामक भएको दाबी गर्दै बैंकहरुको नियम उल्लंघन गर्ने चेष्ठा पनि गर्न नहुने जिकिर गर्नुभयो । “हामी कुनै संस्थाको सुक्ष्मव्यवस्थापन गर्दैनौं तर हाम्रा सर्कुलर पालना गर्नै पनि पर्छ,” मिश्रले भन्नुभयो । उहाँले एकपल्टमात्र नीति निर्माता भएर अनुभव लिन बैंकरहरुलाई आग्रह पनि गर्नुभयो ।
डेपुटी गभर्नर मिश्रले डिजिटल रुपान्तरणमा राष्ट्र बैंकको ठूलो प्राथमिकता रहेको दाबी गर्दै बजार डिजिटलाइजेसनको काम अन्तर्राष्ट्रिय स्तरको गरिने पनि प्रतिबद्धता गर्नुभयो ।
अन्त्यमा, जनतालाई सम्झाउने दायित्व पुरा गर्ने तथ्यांक र विषय बुझ्न पत्रकार आफैंले मिहिनेत गर्नुपर्ने बताउँदै मिश्रले नबिल र नाफिजले आयोजना गरेको तालीमको सराहना गर्नुभयो ।
तालीम कार्यक्रममा कुल सत्र सञ्चालन गरिएको थियो । पहिलो सत्रमा फ्याक्टस् नेपालका महाप्रबन्धक मनिष झाले तथ्यांकको महत्व प्रकाश पार्नुभएको थियो । यस्तै नाफिजका सल्लाहकार लोकबहादुर चापागाईंले मध्यस्ता गर्नुभएको दोस्रो सत्र (प्यानल छलफल)मा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल, नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र बैंकिङ विज्ञ अनलराज भट्टराईले बैंकिङ क्षेत्रका मिथक र वास्तविकताबारे चर्चा गर्नुभएको थियो ।
तेस्रो सत्रमा बैंकिङ विज्ञ पर्शुराम कुँवर क्षेत्रीले बैंकिङ पत्रकारले बैंकको वित्तीय विवरण कसरी हेर्ने ? भन्ने जानकारी गराउनुभएको थियो । त्यसैगरी बैंकिङ पत्रकार यज्ञ बञ्जाडेले मध्यस्ता गर्नुभएको चौथो तथा अन्तिम सत्र(प्यानल छलफल)मा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा, पूर्व बैंकर भुवन दाहाल र नाफिजका अध्यक्ष मोदनाथ ढकालले तथ्यांक तथा प्रतिवेदन र समाचार सम्प्रेषणबीचको खाडलबारे चर्चा गर्नुभएको थियो ।