एक अर्बको नयाँ प्रविधि जडान गर्दै भन्सार विभाग, ४० सरकारी निकाय एकै झ्यालमा

काठमाडौं । भन्सार विभागले आगामी असारदेखि नेपाल नेशनल सिंगल विण्डो सिस्टम आरम्भ गर्दैछ । करिब एक अर्ब लागतमा तयार पारिएको यो प्रणालीले नेपालको भन्सार प्रशासनलाई विश्वस्तरिय बनाउनेछ । त्यति मात्रै होइन, यसले भन्सार प्रशासनसँग सम्बन्धीत ४० वटा सरकारी निकायहरुलाई एउटै प्रणाली भित्र जोड्नेछ ।

४० वटा सरकारी निकायहरुले आफुलाई आवश्यक पर्ने सूचना प्राप्ति, आदान प्रदान र भेरिफाई गरि आवश्यकता अनुसार उपयोग गर्न सक्नेछन् । उदाहरणका लागि यो प्रणालीमा रहेको सूचनालाई भन्सार विभागका अतिरिक्त आन्तरिक राजश्व विभाग, राजश्व अनुसन्धान विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, नेपाल राष्ट्र बैंक, बाणिज्य तथा आपूर्ति विभाग लगायतले हेर्न सक्नेछ । एक अर्कालाई आवश्यक पर्ने सूचना डिजिटल माध्यमबाटै आदान प्रदान गर्नेछन् ।

‘भन्सार भनेकै संसार चिनाउने ढोका हो, हामी सूचना प्रविधिलाई अभिन्न अंगका रुपमा विकास गरिरहेका छौं, भन्सारलाई क्यासलेस र फेसलेस बनाउनुपर्छ भन्ने हाम्रो योजना छ’, विगत १६ महिनादेखि भन्सार विभागको नेतृत्व गरिरहेका महानिर्देशक सुमन दाहालले भने । ‘नेपाल नेशनल सिंगल विण्डो’ नेपालको भन्सार प्रशासनको आधुनिकीकरणमा कोशेढुंगो हुने दावी पनि गरे ।

हाल मुलुकका प्रमुख भन्सार नाकाहरुको सेन्ट्रल सर्भिलेन्स सिस्टमबाट भिडियो अनुगमन भैरहेको छ । अधिकांश भन्सार कार्यालयहरुमा बैंकका एक्सटेन्सन काउन्टर स्थापना गरिएका छन् । त्यति मात्रै नभएर भन्सार विभागमा रहेका अत्याधुनिक ल्याबमा आयाति वस्तुहरुको प्राबिधिक परिक्षण समेत भैरहेको छ । केहि समय अघि बोटलमा झोल बनाएर सुन तस्करी गरिएको तथ्य पनि भन्सारको प्रयोगशालाले नै पुष्टि गरेको थियो । ‘त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार नाकामा एउटा बोतलमा पहेलो झोल पदार्थ ल्याउँदै गरेको देखियो, संका लागेर भन्सार ल्याबमा ल्याएर परिक्षण गर्यौं, त्यो झोलमा ७५ प्रतिशत सुन भेटियो’, महानिर्देशक दाहालले भने । उनले ल्याब परिक्षणले सुुन तस्करीको नयाँ शैली फेला पारेको पनि बताए ।

त्यति मात्रै नभएर भन्सारमा रहेको ल्याबले आयातित वस्तुहरुको गुणस्तरसँगै घोषणा गरिएको भन्सार दर पनि प्रभावित पारिरहेको छ । जसले गर्दा एउटा भन्सार दरमा समान ल्याएका आयातकर्ताहरुले अर्काे भन्सार दर तिर्नुपरेको छ र राज्यको ढुकुटीमा रकम थपिएको छ । ‘एउटा वस्तुको नाम भनेर अर्काै वस्तु ल्याउने र थोरै भन्सार तिर्नेहरु पनि ल्याबका कारण डराएका छन्, हामीले ल्याब परिक्षण गरेर भन्सार दर नै परिवर्तन गराईदिएका छौं’, भन्सार प्रशासनको सुधारका कथा सुनाउँदै दाहालले भने ।

भन्सार कार्यालयहरूको स्वचालित तथ्यांक प्रणाली (आशिकुडा) द्वारा कम्प्युटराइज प्रणालीबाट भन्सार कार्यालयहरूको तथ्यांक राख्ने प्रणाली विकास गरिएको छ । आशिकुडा वल्र्ड सिष्टममा सञ्चालित यस्तो अनुगमन प्रणाली अहिले २४ वटा भन्सार कार्यालयहरूमा लागू भइसकेको छ । भन्सार विभागले नयाँ प्रविधिहरूको प्रयोग गर्दै भन्सार प्रणालीलाई अझ बढी पारदर्शी बनाउने जमर्को गरिरहेको छ । यसबारे आफ्नो योजना प्रस्तुत गर्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘नवीनतम प्रविधिको प्रयोगद्वारा भन्सार कार्यालयहरूलाई व्यवस्थित गर्ने र यसलाई अझ बढी पारदर्शी बनाउने विषय सधै हाम्रो प्राथमिकतामा रहेको छ ।

नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को भन्सार ल्याब निरिक्षण तथा अन्तरक्रिया कार्यक्रममा महानिर्देशक दाहाले अघि थपे,‘व्यापार, पारवहान र अन्य लजिष्टिक सेवा सहितलाई राष्ट्रिय एक द्वार प्रणाली लागू गरेर डिजिटलाइज गर्ने हो भने भन्सार विन्दुमा हुने सम्पूर्ण कामहरू अझ छिटो, कम खर्चिलो र निकै पारदर्शी बन्न सक्छ ।’ उनले राजश्व संकलन, व्यापार सहजीकरण र सामाजिक न्यायका लागि भन्सार प्रशासनले कुनै कसर बाँकी नराखेको पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Related Articles