पूँजी बजारका नियामक निकायलाई आफ्नो काम आफैँ गर्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारका नियामक निकायहरु धितोपत्र बोर्ड र नेप्सेलाई आफ्नो काम आफैँ गर्न निर्देशन दिएका छन्।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १० औं वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्रीले पूँजी बजारको विकासका लागि अर्थ मन्त्रालयको मुख नहेरी आफ्नो काम जिम्मेवारी पूर्वक गर्न निर्देशन दिएका हुन्।
कार्यक्रममा शुभकामना मन्तब्य दिने अधिकांश शेयर लगानीकर्ता संघका पदाधिकारीहरुले पूँजी बजारको समस्या सामाधानका लागि अर्थमन्त्रीलाई आग्रह गरेपछि अर्थमन्त्रीले नियामक निकाय भएर बसेका धितोपत्र बोर्ड र नेप्सेलाई यस्तो निर्देशन दिएका हुन्।
अर्थमन्त्री खतिवडाले भने, ‘पूँजी बजारको नियामक निकायहरुले आफ्नो काम जिम्मेवारी पूर्वक गर्नुपर्छ। आफ्नो काम आफैँ नगरी बल पास गर्ने (पन्छिने) प्रवृत्तिको अन्त्य हुनुपर्छ।’ यस्तै नियामक निकायहरुलाई अर्थमन्त्रालय हस्तक्षेप गर्नुपर्ने अवस्था आउन नदिन पनि मन्त्री खतिवडाले सरोकारवालाहरुको ध्यानकर्षण गराए। उनले अर्थमन्त्रालयलाई नियामकहरुको नियामक बन्नुपर्ने अवस्था आउन नदिन आग्रह गरे।
सरकार सुदृढ पूँजी बजार विकासको पक्षमा रहेको बताउँदै उनले पूँजी बजारलाई खेलौना बनाउने काम बन्द गर्न चेतावनी दिएका छन्।
पूँजी बजारले पनि मुलुकको आर्थिक वृद्धिमा टेवा पुग्ने भएकोले शेयर बजारप्रति विश्वास बढाइ राख्नुपर्नेमा मन्त्री खतिवडाले जोड दिए।
अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेको आफूलाई मुलुकको आर्थिक वृद्धि उकास्ने चिन्ता रहेको बताउँदै अर्थत्रन्त्रको सानो क्षेत्रको विकासका लागि नियामक निकायहरु जिम्मेवार भएर कार्यसम्पादन गर्नुपर्ने बताए।
नेप्सेका सीईओ चन्द्रसिंह साउदतर्फ इंगित गर्दै उनले धेरै करको विवादहरु टुङिसकेको र पूँजीगत लाभकरको बिषय पनि समाधान हुने क्रममा रहेकोले छिट्टै समाधान गर्न धितोपत्र बोर्ड र नेप्सेलाई निर्देशन दिए। उनले पूँजी बजारलाई लगानीको आवश्यकता पूरा गर्न डिबेञ्चर मार्केटका साथै इक्वीटी बजारलाई जोड दिनुपर्ने बताए।
शेयर बजार प्रतिको विस्वास बढाईरहनु सरकारको दायित्व भएको बताउँदै उनले आगोसँग खेल्दा आफै जल्न पनि सकिने भन्दै सचेत समेत गराएका थिए। लगानीको आवश्यकता पूरा गर्न पूँजी बजारको परिपूरक भुमिका हुने बताएका उनले कुनै कम्पनीले शेयर बिक्री गरेर स्वपूँजी संकलन गर्न खोज्दा शेयर बिक्री नहुने अवस्था आउनु सबैका लागि दुखद क्षण हुने बताए।
पछिल्लो समय बैंक तथा बीमा क्षेत्रको पहुँच उल्लेखनीय रुपमा वृद्धि भएको मन्त्री खतिवडाले जानकारी गराए। दुई वर्षमा बैंकिङ्ग पहुँच ५० प्रतिशतले बढेको छ। यस्तै बीमाको दायरा पनि विस्तार भएको छ। म गर्भनर हुदाँ निक्षेपको बीमाले बीमो दायरा विस्तार भएको थियो। त्यतिखेर १० प्रतिशत भन्दा खुशी लाग्थ्यो। अहिले २५ प्रतिशत पुग्यो भन्दा खुशी लागेको छ। बीमा कम्पनी संचालनको पहिले वर्ष देखि नै नाफामा छन्। उनले भने ।
देशभित्रैबाटै मानिसहरु परिचालित मुलुकको अर्थतन्त्रलाई विश्वमा बदनाम गर्ने प्रयास भएको भन्दै हाल देशका अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक रहेकोले मुलुकमा लगानीको वातावरण र रोजगारीका अवसरहरु बढेको दाबी गरे।